लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक संख्या १७/२०८१, मिति २०८१/०६/१४ गतेको निर्णय अनुसार नयाँ कार्यालयको रुपमा नवलपरासी (ब.सु.प.) जिल्लाको सदरमुकाम परासीमा रहने गरी नयाँ कार्यालयको रुपमा यस सडक पूर्वाधार विकास कार्यालयको स्थापना भएको हो । साविकमा नवलपरासी (ब.सु.प.) जिल्ला भित्र संचालन हुने प्रदेश सरकार मातहतका सडक तथा सडक पुल निर्माण एवं मर्मत साथै झोलुङ्गे पुलको निर्माण तथा मर्मतको कार्य रुपन्देही जिल्लामा रहेको सडक पूर्वाधार विकास कार्यालय, रुपन्देहीको कार्यक्षेत्र भित्र पर्ने भएकोमा नवलपरासी (ब.सु.प.) जिल्ला भित्र संचालन हुने आयोजनाको सम्बन्धमा रेखदेख, अनुगमन निरिक्षण गर्न सहज हुने साथै स्थानीय माग र आवश्यकताको बारेमा नजिकबाट बुझ्दा आयोजना छनौट एवं कार्यान्वयन समेत प्रभावकारी ढङ्गबाट भइ जिल्लाको समष्टिगत विकासमा टेवा पुग्ने उद्देश्यका साथ यो कार्यालयको स्थापना भएको हो ।
हाल यस कार्यालयबाट लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय र सो अन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालयको मातहतमा रही नवलपरासी (ब.सु.प.) जिल्ला भित्र संचालन हुने सडक, सडक पुल र झोलुङ्गे पुलको निर्माण र मर्मत गर्ने कार्य गर्दै आइरहेको छ । यसका साथै यस कार्यालयले आकस्मिक मर्मत तथा सडक सुरक्षाको कार्य समेत गर्दछ ।